Fellows

Bio Creations
Madhu Kumari Mahara

Madhu Kumari Mahara

मधु महरा १८ महिना लामो जस्ट फ्युचर्स फेलोसिप [जेएफएफ] मा सहभागी फेलो हुन् । जेएफएफमा जोडिएपछि स्नातक तहको पढाइ थालेकी मधुको ससुराली पर्सा, जगरनाथपुर गाउँपालिका–३, बिजवनिया टोलमा पर्छ भने माइत चाहिँ वीरगंज सहरमा रहेको छ । साहित्यमा रुचि राख्ने मधु समय–सन्दर्भ हेरेर तुरुन्तै कविता लेख्न सिपालु छिन् । 

पहिले मधुलाई आफू चमार जातको हुँ भन्न लाज लाग्थ्यो । किनभने अरूले जातकै आधारमा हेला गर्ने गरेको उनको खल्लो अनुभव छ । स्कुले साथीहरुले नै उनलाई चमारकी छोरी भन्ने र यसको बुबाले बाजा बजाउँछ भनेर हेपेर बोल्थे । स्कुलमा सरले नामभन्दा पनि जात काढेर बोलाउने गरेको र विज्ञान पढाउने सरले त क्लासमा जहिले पनि पछाडि बसाउने गरेको सम्झना ताजै छ । जातकै कारण स्कुल जाँदा एक्लै जानुपर्ने, साथीसँगी नै नहुने र कहिलेकाँही साथीको घरमा जाँदा घरबाहिर राखिएको तीतो अनुभवले उनलाई धेरै सिकाएको छ । अलिक थाहा भएपछि मधुलाई लागेको छ, “म बसेको ठाउँमा सानो सानो कुरामा पनि जातले महत्व राख्ने रहेछ ।

मधुको बुझाइमा ब्राह्मण र शासकहरुले तहगत आधारमा शासन जमाउन जात छुट्याएका हुन् । समाजमा जात र जमिनबीचको सम्बन्ध गहिरो छ, यसले सामाजिक–आर्थिक हैसियत बनाउँछ । यसले लिङ्गको आधारमा हुने विभेदलाई पनि प्रभावित पार्छ । जात, वर्ग, लैङ्गिकता र यौनिकताबीचको सम्बन्धबारे गहिरो अध्ययन गर्न सकियो भने यी विषयमा गहिरोसँग बुझ्ने तथा लेख्ने बानीको विकास हुन सक्छ । विभिन्न अनुभव र अध्ययनपछि मधुले निर्धक्क भएर आफ्नो कुरा राख्न सिकेकी छन्, आफ्नो भोगाइको कथा लेख्न सक्ने भएकी छन् ।आफ्नो पनि कथा हुन सक्ने थाहा पाएपछि अब उनमा आफ्नो समुदायका अरुको कथा सुन्ने, गुन्ने र  लेख्ने उत्कट इच्छा जागेको छ । मधु जातले गाँजेको  समाजमा न्यायका लागि लेखनबाट दलित महिलाहरूलाई सबल र सचेत बनाउन हरदम क्रियाशील रहने उनको आकांक्षा रहेको छ ।

...