Narratives

Narratives

वर्ण–जात व्यवस्थाबारे शास्त्र पनि पढ्ने, जीवन र जगत् पनि पढ्ने अनि यस व्यवस्थाको चिरफार पनि गर्न सिक्ने : यसरी ‘अपन कथा अपने बुनै छी’ को पढाइ सुरु गरियो । मधेशका दलित महिलाको भोगाइ र हेराइमा महामारी कस्तो देखियो उनीहरुकै नजरियाबाट छलफल गरियो र शास्त्रसँग जीवनलाई गाँसेर एकसाथ सिकियो । हो, भोगाइ र शास्त्रबारे मन्थनबाट फेलोले मात्रै होइन, फ्याकल्टीले पनि सिके । जात, लैंगिकता र यौनिकताको अन्तर–सम्बद्धता [इन्टरडिसिप्लिन] र सिंगो समाज व्यवस्थाबारे समीक्षात्मक चिन्तन गर्ने र सपना बुन्ने काम गरियो । १८ महिनाभन्दा बेसी समय सिक्ने–सिकाउने दोहोरो प्रक्रिया चल्यो । यही क्रममा आफूले भोगेको देखेको र पढेको आफ्नो जीवनबारे लेख्न सिक्ने प्रक्रिया पनि थालियो । यसका लागि शास्त्र र विधिको कक्षासँगै न्यारेटिभ ल्याब [कथा ल्याब] प्रत्येक हप्ता चलाइयो । 

‘अपन कथा अपने बुनै छी’ एउटा सिर्जनशील प्रयोगशाला (ल्याब) हो । यस ल्याबमा फेलोदखि फ्याकल्टीसम्म सबै जना नयाँ कथा लेख्ने वा नयाँ भाष्य सिर्जना गर्ने सहकर्ममा जुटे । यस ल्याबबाट नयाँ भाष्य उत्पादन गर्न लिखित र अलिखित सिर्जनाका लागि अनेक प्रयोग गरियो । यसै क्रममा बहिन–वृत्ति फेलोसिप पाएका दलित महिलाहरुले आआफ्ना भोगाइका कथा लेखे । मधेशका १६ जना दलित महिलामध्ये केहीले शब्दमा कथा लेखे भने केहीले तस्बिर र आवाजबाट कथा बुने र केहीले भिडियो संवादमार्फत् । जात, लैंगिकता र यौनिकताबारे कक्षासँगै लेखन र सिर्जनाका प्रशिक्षणबाट रचना गरिएका कथा प्रेरक छन् ।